
काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र बायर्न म्युनिखले सहज जित निकालेका छन् । यस्तै, लिभरपुल भने नापोलीसँग पराजित भएको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई ५–१ ले हराएको हो । बार्सिलोनाको जितमा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे ।
अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले इटालीको इन्टर मिलानलाई २–० ले हराएको हो । बायर्नलाई जित दिलाउन लोरी सानेले एक गोल गरे । बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो ।
च्याम्पियन्स लिगकै अर्को खेलमा इंग्ल्याण्डको लिभरपुल भने पराजित भएको छ । लिभरपुललाई इटालीको नापोलीले ४–१ ले हराएको हो । नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एक एक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए ।
त्यस्तै, टोटनह्याम हट्सपरले भने फ्रान्सको मार्सेलाई २–० ले पराजित गरेको छ भने नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले स्कटल्याण्डको रेन्जर्सलाई ४–० ले स्तब्ध बनाउँदा स्पेनको एट्लेटिको मड्रिडले पोर्चुगलको एफ.सी पोर्टोमाथि २–१ को जित निकाल्यो ।
पोर्चुगलकै अर्को टोली स्पोर्टीङले जर्मनीको आइन्त्राच फ्रयाङ्कफर्टलाई ३–० ले पाखा लगाउँदा बेल्जियमको क्लब ब्रुजले जर्मनीको बायर लिभरकुजेनमाथि १–० को साँघुरो जित निकाल्यो ।
प्रतिक्रिया दिनुहोस्