
काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन् ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज (जमैका) मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा आफूलाई लागेको आरोपबारे कानूनी लडाइँ लड्ने बताएका छन् । उनले कानूनी उपचारका लागि क्यानसँग सहयोग मागेका हुन् ।
सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताएका थिए । यसैबीच सन्दीपले कानूनी लडाइँ लड्न क्यानसँग सहयोग मागेका हुन् ।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा सन्दीपले स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने १७ वर्षीया बालिकालाई यही भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल)क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् । त्यसअघि सन्दीपसहितको नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग तीन एक दिवसीय र पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने यही भदौ ६ गते केन्या गएको थियो।
प्रतिक्रिया दिनुहोस्