
काठमाडौं । रुसको नियन्त्रणमा रहेका केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको छ । युद्ध सुरु भएको १ सय ९६ दिनसम्म आईपुग्दा युक्रेन आफ्नो भुमि फिर्ता लिन संघर्षरत छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई “सुखद समाचार“ को संज्ञा दिनुभएको छ ।
यद्यपी जेलेन्स्कीले कुन–कुन ठाउँहरू फिर्ता लिएको हो भन्ने चाहीँ नखुलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भिडियो सम्बोधनमार्फत राष्ट्रपति जेलेन्स्कीले युद्धमा सेनाले देखाएको बहादुरीको प्रशंसा गर्दै हरेक नागरिकले आफ्ना सेना प्रति गर्व महसुस गरिरहेको बताउनुभयो ।
अमेरिकी अधिकारीहरुले युक्रेनले रुसी सेनाहरूविरुद्ध “विस्तारै तर अर्थपूर्ण प्रगति“ गरिरहेको बताएका छन् । बुधवार राति युक्रेनी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रमा रुसी आक्रमणहरू निस्तेज पार्न सफल भएको जनाइएको छ ।
युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिणमा धेरैले अपेक्षा गरेको प्रत्याक्रमणको बारेमा केही विवरण सार्वजनिक गर्दै आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ । यद्यपी युद्धका कारण युक्रेनको आर्थिक अबस्था नाजुक हुँदै गएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रपति जेलेन्स्कीले २७ अर्ब डलर भन्दा बढी पैसा युद्धका क्रममा रक्षामा खर्च भएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्