
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बिहीबार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालभन्दा अगाडी मन्तव्य राख्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गर्नुभएको थियो ।
सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले तत्कालिन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्नु नहुने बताउनु भयो । उहाँले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन भन्ने प्रश्न समेत गर्नुभयो ।
अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भएपनि हालसम्म कार्यान्वयन नभएको बताउनु भयो । उहाँले सो निर्णय कार्यान्वयनका लागि लडाईं गरिरहेको बताउनु भयो । उहाँले वर्गयुद्ध जारी रहेको उल्लेख गर्नुभयो । माओवादी केन्द्रप्रति नकारात्मक प्रहारहरु भइरहेको भन्दै उहाँले प्रतिक्रियावादीहरुको बिरुद्धमा आफू संघर्षमा नै रहेको बताउनु भयो ।
उहाँले माओवादी केन्द्र गलत बाटोमा गइरहेको भन्दै सच्चिन आग्रह समेत गर्नुभयो । माओवादीले आफूलाई स्वमूल्याकन गर्नुपर्ने उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्