
काठमाडौं । गत वर्ष जुट (सनपाट) खेतीबाट मनग्य आम्दानी गरेका सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट असन्तुष्ट भएका छन् ।
मलको अभावका कारण उत्पादनमा कमी आएसँगै उनीहरूमा निराशा बढ्न थालेकाे हाे । समयमै मल नपाएको पीडा झेलेका किसानहरू उत्पादन समेत घट्न समेत घट्दा थप चिन्तामा परेका छन् । उत्पादन भएको जुटको मूल्यमा पनि गिरावट आएपछि आफूहरूको रूचि समेत सोही खेतीमा घटदै गएको किसानहरूको भनाइ छ ।
भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सोही खेतीमा लागत बढेकाे भएता पनि आम्दानी कम हुने गरेको उनीहरूको गुनासाे छ । सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन, -‘सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर, ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउँनै मुस्किल छ । अनि कसरी हुन्छ । मार्कामा पर्ने त जसरी पनि हामी किसान नै हौं ।’ खुशीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ ।
जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन् । नेपालमा मल पाइहाले डिलरवालाले ठूला बडालाई बेच्ने गरेको उनको गुनासो छ । रामकृपाल भन्छन,- ‘पेशा छोड्न अन्य विकल्प छैन् । भारतबाट महँगो मूल्य तिरेर पर्याप्त मल हाल्न समेत गाह्रो छ । जसको प्रभाव उत्पादनमा कमी स्वभाविक हो । तर, पनि बाध्य छौं । जसले खर्च धान्नै धौधौ छ ।’
विगतका वर्षको तुलनामा जुट खेतीमा आकर्षण कम हुँदै गएता पनि केही किसान भने जसोतसो पेशा धानी रहेका देखिन्छन्। लागत मूल्य बढ्दै जाँदा आम्दानी घटेर निराश देखिएपनि किसानहरूमा सरकारले मलखादको सहजता दिलाओस् भन्ने चाहना भने ज्युँकात्यू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्