
काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा क्याडिजलाई ४–० ले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा उक्लन सफल भएको हो ।
काडिजको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।
खेलको ५५ औं मिनेटमा फ्रान्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर दिलाए । ८६ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको इन्जुरी समयमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।
यो खेल हेर्न रंगशाला पुगेका काडिजका एक जना समर्थकको स्वास्थ्यमा समस्या आएपछि झण्डै ५० मिनेट खेल रोकिएको थियो ।
जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिड १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
स्पेनिस लिगकै अन्य खेलहरुमा गएराति एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४–१ ले हराउँदा सेभियाले इस्पानियोललाई ३–२ ले तथा रायो भायकानोले भ्यालेन्सीयालाई २–१ ले हराएका छन् ।
प्रतिक्रिया दिनुहोस्