
काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ ।
ईन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा कुमारी रथजात्रा सम्पन्न भएको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै आएको छ । प्राविधिक कारणले प्रत्येक वर्ष नभए पनि यो वर्ष भने विरेन्द्रभक्त गजू श्रेष्ठ जिब्रो छेड्न तयार भएसँगै जात्रा सम्पन्न भएको हो ।
थिमि नगरको मध्यभागमा अवस्थित दिगुभैरव अगाडिको डबलीमा श्रेष्ठले जिब्रो छेडेका हुन् । करिब १ फिट लामो फलामको तीनमुखे सियोले कर्मी नाईकेबाट जिब्रो छेड्नुपर्ने परम्परा रहेको छ । जिब्रो छेडेपछि चन्द्र आकारको आकास दीप बोकेर श्रेष्ठले थिमि नगरका पुराना टोल, बोडे, नगदेश तथा सूर्यविनायक नगरपालिकाको दक्षिण बाराही परिक्रमा गरेका थिए ।
साधारणतयाः बैशाखमा आयोजना हुने बिस्केट जात्रामा मध्यपुरको बोडेमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा हुने गर्दछ । तर, सोही नगरमा आश्विन शुक्ल पूर्णिमाको साँझ पनि जिब्रो छेड्ने जात्रा हुने परम्परा रहेको छ ।
थिमिको जिब्रो छेडने जात्रामा भने हनुमानढोका दरबारबाट लगिएको राज खड्गलाई सहभागी गराउनुपर्ने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस्