१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानसेनापति शर्माद्वारा सदैव तयारी अवस्थामा रहन सेनालाई निर्देशन


7.371k
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा सम्वद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आईतबार सैनिक मुख्यालय जंगीअड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । सम्बोधनकै क्रममा आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।

साथै उहाँले नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्नुको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन अपिल गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आईतबार जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति शर्माले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्नुभएको बताइएको छ ।

साथै उहाँले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढिकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने समेत उल्लेख गर्नुभएको छ । प्रधानसेनापति शर्माले नेपाली सेना सवै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गर्नुहुँदै राज्यमा उत्पन्न संकट तथा विपद् व्यवस्थापनदेखि विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभावको कदर समेत गर्नुभएको छ ।

राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना समय सिमाभित्रै निर्माण सम्पन्न गर्न पनि प्रधानसेनापति शर्माले निर्देशन दिनुभएको छ ।