१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कुलुङ जनजातिमा सूचिकृत


260
Shares

सोलुखुम्बु । सरकारले अल्पसंख्यक जातीय समूहमा राखेको राई जातिभित्रको कुलुङलाई जनजाति समूहमा सूचीकृत गर्ने प्रक्रिया सुरु भएको छ ।

स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै कुलुङ समुदायको जनघनत्व रहेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले कार्यपालिका बैठकबाट जनजाति समूहमा सूचीकृत गरेको हो । शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले कुलुङलाई जनजातिमा सुचिकृत गरेको हो ।

बैठकले सर्वसम्मत रुपमा कुलुङलाई जनजातिमा सुचीकृत गर्ने निर्णय गरेको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुलुङले जानकारी दिनुभयो । यसअघि विभिन्न फोरममा कुलुङलाई अल्पसंख्यक समूहबाट हटाएर जनजातिमा सूचीकृत गर्नुपर्ने आवाज उठ्दै आएको थियो । कुलुङ संघ सोलुखुम्बुका अध्यक्ष केडी कुलुङले पालिकामा पेश गरेको निवेदनको आधारमा सूचीकृतको प्रक्रिया अघि बढेको जनाइएको छ ।

नेपालको संविधानले स्थानीय सरकारलाई दिएको अधिकार प्रयोग गरी आवश्यक मापदण्ड पुरा गरेर जनजाति समूहमा सुचीकृत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बस्नेतले बताउनुभयो । गाउँपालिकाबाट सुरु भएको सूचीकृत गर्ने काम प्रदेश र केन्द्र सरकारको सूचीमा पनि संशोधनका लागि पालिकाले नेतृत्व लिने अध्यक्ष कुलुङको भनाई छ ।