
काठमाडौं । विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले स्थलगत (होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा रहेको बताउनुभएको छ ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष हुमागाईंले यस्तो बताउनुभएको हो । उहाँले स्थलगत विज्ञापनको लागि अझैपनि ठेकेदारी प्रचलन गरेको भन्दै अब बोर्डले ठेकेदारी प्रचलन रोक्ने कानून बनाएर लागू गर्ने बताउनु भयो । अध्यक्ष हुमागाईंले होडिङ बोर्ड विज्ञापनमार्फत उठ्ने राजश्व ठेकेदारले उठाउने गरेकाले अब विज्ञापन बापतको राजश्व ठेकदारले उठाउन नपाउने व्यवस्था लागू गर्ने पक्षमा बोर्ड रहेको बताउनु भयो ।
उहाँले विज्ञापनको राजश्व उठाउने अधिकार स्थानीय स्वायत्ता ऐनले स्थानीय सरकारलाई दिएपनि ठेकेदारहरुले उठाइरहेको बताउनु भयो । अध्यक्ष हुमागाईंले गाउँपालिका, नगरपालिका र सरकारबीचको समन्वयको कमीले गर्दा ठेकेदारबीचको द्वन्द्वको चपेटा रहेको भन्दै विज्ञापन आचारसंहिताले समेट्न नसकेको बताउनु भयो । उहाँले यसको लागि निर्वाचन अगाडि नै स्थलगत विज्ञापनको राजश्व स्थानीय सरकारले उठाउन पाउने गरी कानून मन्त्रीपरिषद्ले पास गर्ने बताउनु भयो ।
उहाँले बोर्डले यो वर्ष डिजिटल मिडियाको ऐन बनाएर नै व्यवस्थापन गर्ने बताउनु भयो । अध्यक्ष हुमागाईंले बढीमा चार पाँच महिना भित्र डिजिटल मिडिया व्यवस्थापन गर्ने गरी काम भईरहेको बताउनु भयो । उहाँले डिजिटल मिडिया व्यवस्थापनको लागि विज्ञापन संघ, विज्ञापन सोसाइटी, उद्योग वाणिज्य संघ र उपभोत्ताको ठूलो सहयोग भएपनि सरकारी कर्मचारीहरुको नै असहयोग रहेको बताउनु भयो ।
अध्यक्ष हुमागाईंले बोर्डको पहलमा चालु आर्थिक वर्ष देखि सरकारी विज्ञापनमा मिडियाको बिलमार्फत भुक्तानी गर्ने पाउनेगरी सञ्चार मन्त्रालयले परिपत्र जारी गरेको बताउनु भयो । उहाँले मिडियाको बिलबाट नै भुक्तानी पाउने नियम तत्काल लागू हुने बताउनु भयो । त्यस्तै अध्यक्ष हुमागाईंले विदेशी विज्ञापन तत्काल नियन्त्रण गर्नपनि बताउनु भयो ।
उहाँले डविङ विज्ञापन बोर्डले रोकेको भन्दै यदि कही डविङ विज्ञापन बजेको छ भने खबर गर्न व्यवसायीहरुसँग आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्