८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


दालभातको तागत


0
Shares

-लाओस राई

ललितपुर, खोकनामा व्यवसायिक तरकारी खेती गर्दै आएका कृषक बिरेन्द्र महर्जनले आफ्नै खेतीमा छिमेकीहरुसँग भेला भई बजेट भाषण सुनेका रहेछन् । कृषकलाई थोरै भएपनि सम्बोधन गरेको चर्चा गर्दै उनले भने, ‘के सरकारले कृषिलाई उद्योग बनाउन खोजेकै हो ? के कृषि पेशालाई सरकारको प्राथमिकतामा राखेकै हो ? कृषकलाई उत्साहित गर्न खोजेको हो ? उनले यस्तै यस्तै धेरै जिज्ञासा मसँग गरे । पुराना मित्र भएर पनि होला उनले फेरी थपे, सरकारले कृषि क्रान्ति गर्ने भन्यो, क्रान्तिको कुरा सुन्दा म उत्साही भएँ ।

सकारको थोरै साथ पाइयो भने किसान र कृषि प्रविधिमा मैंले १८ वर्षको अनुभवबाट आर्जन गरेको ज्ञान बाँड्न पाउँथे कि । त्यसो गर्न पाइयो भने देशका लागि केहि गरेको जस्तो हुन्थ्यो । उनको सबै कुरा सुनेपछी आर्का किसान भने, यदि सकारले वास्तविक किसानलाई नै किसानी भन्यो भने सबै सम्भव छ, अन्यथा बजेट भाषण पनि प्रेम पत्र जस्तै पढ्दा मात्रा रमाइलो कुरा हो । दाल भात खाने मात्र सुर हो । कुरा अन्त्य हुन नपाउंदै धेरै सम्भावना कुरा पनि उनले गरे, बजेटले साना किसान, ब्यवसायिक किसानी, ब्यक्ति, सामूहिक, सहकारीदेखि औध्योगीक किसान सबैलाई सम्झेको देख्दा उत्साहा उत्पन्न हुनुलाई अन्यथा भन्न मिल्दैन । यहाँ महर्जन मात्र होइन देशभरिका कृषकहरु उतिकै उत्साहित भएका छन् जति महर्जन ।

अप्ठ्याराहरु अन्त्य हुने र जीवनस्तर माथि उठ्ने आशमा किसानाहरु खुसी भएका रहेछन् । हुन पनि विचरा किसानहरु वर्षमा एक दिन धेरै खुशी हुँदा रहेछन् । किनकी सरकार जेठ १५ गते सबै किसानलाई सहयोग गर्ने भन्दो रहेछ । त्यसैले उनीहरु खुशी हुँदा रहेछन् । तर अर्का किसान शेरबहादुर बम्जनको भने फरक धारणा थियो । उनले थपे, ‘प्रत्येक वर्ष हामी किसानहरुलाई ठुला-ठुला अनुदान, सहुलियत पूर्णकर्जा, प्रबिधि हस्तान्तरण साथै उन्नत बिउ दिने भन्दै सरकारले पंगु बनाई रहेका छन् । किनकी हामी जीवन नै माटोमा बिताउने किसनाहरुका लागि त यस्ता कार्यक्रम त ‘माछा माछा भ्यागुता’ जस्तै हो । उनले आफूले भोगेको दुःखलाई यो वर्षको बजेटले कुनै सम्बोधन नगरेको भन्दै दुःख पोखे ।

नेताहरु सत्तामा पुग्न चुनाव गर्छन् । आ-आफ्ना कार्यकर्ताले हो हल्ला गराउँछन् । चुनावको दिन ठुलो महोत्सब जस्तै गर्छन्, सबै जनतालाई भोट दिन हातमा समातेर लान्छन्, तर भोट दिईसकेपछी खेद्दै पठाउँछन् । बर्षमा नाग पन्चमीमा दैलोमा नाग टाँसेजस्तै गर्ने परम्पराले हामी किसानलाई पुग्छ ? किसानलाई अनुदान लिन धेरै गाह्रो नीति बनाउने, झोले किसानहरुलाई रकम बाँड्ने बजेट हो यो । यी किसानहरुको संवाद सुन्दा बिरेन्द्रले भनेको कुरा भने सरकारले लेखेको थियो । यी दुई किसानको धारण बुझ्दा कृषिका योजनाहरु निबन्धको विषय बस्तुजस्तै देखिन्थ्यो । 

बजेटसंग बिरोध र समर्थनको टिका टिप्पणी आयो । त्यसलाई अन्यथा लिन हुँदैन । बिरोध र प्रतिक्रिया जनाउनु बौद्धिक धर्म पनि हो । अर्को कुरा संसदीय व्यवस्थामा बिरोधको स्थान बिशिष्ठ हुन्छ । किनकी लोकतन्त्र भन्नु नै  बिरोध सहितको ब्यबस्था हो । तर यहाँ त्यस्तो राजनीतिक सिद्दान्तको भिडन्तले निर्माण गरेको द्वन्दात्मक अवस्थाको चर्चा नगरी “किसान, दालभात र त्यसले उत्पन्न गर्ने तागतका साथै कृषिसंग जोडिएको विभिन्न पक्षको सन्दर्भलाई अगाडी बढाउनु आवश्यक छ ।

झन्डै चार दशकअघिको अघि कुरा थियो । कोरियामा खाध्य संकट भयो ।  नेपालले खाद्यान्न सहयोग पठायो । सामान्यतय कुनै संकट उत्पन्न हुनु र समाधान गर्ने मानसिकता बिकसित हुनुलाई सामान्य रुपमा लिन सकिएला । तर त्यसको सामना गर्न सक्नु चाँही महत्वपुर्ण कुरा हो । कुनै पनि समस्यालाई  सामान्य रुपले हेर्‍यो भने सामान्य देखिन्छ । गम्भीर रुपले हेर्‍यो भने गम्भीर नै देखिन्छ । तात्कालिन समयमा कोरियालाई खाद्यन्न पठाएको घटनालाई पनि जसरी हेर्दा उपयुक्त हुन्छ त्यसैगरी हेर्न सकिन्छ । तथापि त्यो नेपालको लागि एेतिहाँसिक र स्मरणयोग्य घटन हो । तर आज ति घटना दन्त्य कथाजस्तै लाग्दछ ।

द्रुतगतिमा भएको विकासले कृषिलाई पनि जुरुक्क बोकेर अन्य उद्योग जस्तै बनायो । बिडम्बना विकसित, मुलुकले निर्माण गरेको आधुनिक कृषि उपकरण, मल, बिउ र बिषादी जस्ता महत्वपूर्ण कुराहरु विकासिल र बिकासोन्मुख देशहरुले प्रयोग नै गर्न सकेन । जसले गर्दा नेपाल जस्ता देश परम्परागत कृषि प्रणालीबाट माथि उठ्नै सकेन । पुरानै प्रणालीले लागत बढ्ने र उत्पादन कम भएपछी किसानहरु बिस्थापित हुँदै गए । किसानले खेती छाड्दा जमिन जंगलमा परिवर्तन भयो । त्यसो हुँदा सिंगो देश नै दाल भातमा परनिर्भर हुनपुग्यो र यस्तो संकटपूर्ण समयबाट देश चलिरहेको छ । तर केहि वर्षदेखि कृषि प्रणालीलाई यान्त्रिकीकरण गर्ने भनी पनि त्यसले खासै परिवर्तन गर्न सकेको छैन ।

२०७७/०७८ को बजेटले कृषि क्रान्ति गर्ने, कृषिलाई उद्योग बनाउने सपना बाँडेको छ । कृषि क्रान्ति भनेको काठको हलोको सट्टा ट्राक्टरले जोत्दैमा हुने हो र ? बस्तुको मलको सट्टा कडा रसयानिक मल प्रयोग गर्दैमा हुने हो र ? क्रान्ति भनेको त पुरानो खेती प्रणालीको समुल अन्त्य हो । दुई चारसय थान ट्राक्टर बन्दैमा एक दुईसय मुरी बिउ बाँड्दैमा क्रान्ति भन्न मिल्दछ । त्यसमा कागजी खेति गर्ने आफ्नै नाता/गोता र कार्यकर्तालाई प्राथमिकता पारेपछि त्यसलाई कसरी क्रान्ति भन्ने ?  दाला भात उत्पादन गरेर देशलाई आत्मनिर्भर गर्ने कुरामा पनि कागजी किसानको हैकम हुनु सबै भन्दा दुखद कुरा हो ।

कृषि उद्योगको डिंग हाक्नु मात्र ठुलो कुरा होइन । कृषिमा आधारित चिनी, चिया, कपास, चुरोट जस्ता उद्योगहरु पूर्ण रुपमा धरासायी भैरहेको बेलामा सिंगो कृषिलाई नै उद्योगमा लैजाने भनेको त वालुवा निचरेर तेल निकाल्ले भनेको जस्तै हो । त्यसकारण कुनै चिज भन्नु मात्र ठूलो होइन । कृषि उद्योगका लागि सरकारले भूमिको ब्यवस्था यति गर्‍यो । आर्थिक वर्षमा यति हेकडमा नमुना उद्योग संचालन गर्ने भन्नु भन्दा पहिले एकै पटक कृषिलाई उद्योग बनाउने कुरा गर्दा चुनाबी सभामा डिंग जस्तै हो भन्नपर्छ । किनकी त्यो जनतालाई पंगु बनाए सरह हो । त्यसकारण त्यसको ब्यवहारिक प्रयोग हुन्छ कि हुँदैन त्यो पक्ष चाँही महत्वपूर्ण देखिन्छ । यहाँ कृषि क्रान्ति सम्भव छैन भन्नु खोजेको होइन, सम्भव छ । त्यसको लागि जमिनको ब्यबस्था मुख्य कुरा हो । त्यसपछि सिंचाई, बाटो, बत्तीलगायत यन्त्र उपकरण बिउ बिजनको ब्यवस्था गर्नुपर्‍यो । त्यसपछि मात्र क्रान्ति सम्भव हुन्छ ।

त्यसले मात्र किसान बिरेन्द्र महर्जनको आशालाई थप उत्साह दिन सकिन्छ । शेरबहादुर बम्जनको आक्रोशलाई सकरात्मक पार्न सकिन्छ । संगठित कृषि क्रान्तिले मात्र चार दशक अघिको अन्न दिन सक्ने देश जस्तो बन्न सकिन्छ । अन्यथा संधै दालभातको तागतको खोजीमै जीवन बित्नेछ ।