१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवौं राष्ट्रिय खेलकुद : विभागीय टोलीको जित


299
Shares

काठमाडौं । राजधानीमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगितामा सोमबार विभागीय टोलीद्वय त्रिभूवन आर्मी र नेपाल पुलिस क्लवले आ–आफ्नो खेलमा जित निकालेका छन् ।

कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सोमबार भएको दिनको पहिलो खेलमा त्रिभूवन आर्मी क्लवले मधेस प्रदेशमाथि ६ विकेट सहज जित निकाल्दा नेपाल पुलिस क्लवले लुम्बिनी प्रदेशमाथि ७६ रनको फराकिलो जित निकालेको छ । यस्तै मुलपानीमा तय भएका दुवै खेल ओसिलो मैदानका कारण हुन सकेनन् ।

कीर्तिपुर मैदानमा सम्पन्न दिनको पहिलो खेलमा मधेस प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य आर्मीले १८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्वाधिक ३४ रनको पारी खेल्दा रोहितकुमार पौडेलले २५, अर्जुन साउदले १७ र रोजेश पुलामीले १६ रन जोडे । मधेस प्रदेशका आदिल आलम, रुपेश सिंह र हरिशंकर साहले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङ गरेको मधेसले पूरै २० ओभरमा सात विकेट गुमाएर १ सय ४ रनको योगफल बनाएको थियो । मधेसका ओपनर सन्तोष कार्कीले सर्वाधिक २१ रन बनाउँदा कप्तान हसिम अन्सारीले २०, रोहन विकले १७, नसरुदिन अन्सारीले १२ र विशाल सुस्लिङले १० रन जोडेका थिए भने अन्य खेलाडीले राम्रो स्कोर गर्न सकेनन् । मधेसलाई सानो योगफलमा रोक्न आर्मीका सोमपाल कामी र सुसन भारीले समान दुई विकेट लिए । यसबाहेक, हरि चौहानले एक विकेट निकाले ।

प्रतियोगिता अन्तर्गत कीर्तिपुर मैदानमा सोमबार नै सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । पुलिसले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनाउन सक्यो । उसका लागि बसिर अहमदले अविजित ४६ रन तथा सौरभ खनालले २४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । दीपेन्द्र रावतले अविजित १३ रन तथा प्रज्वल थापाले १० रन बनाए । लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि ललित राजवशीले ३ तथा करण केसीले २ विकेट लिए । गुल्सन झाले १ विकेट निकाले ।

त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर २ सय ४ रन जोडेको थियो । कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय इनिङ खेले । भुर्तेलले ७५ तथा शेखले अविजित ५० रन बनाए । सुनिल धमलाले ३५ तथा दिलिप नाथले ३३ रननका पारी खेले । लुम्बिनीका बसिर अहमद, अनिल खरेल, दीपेन्द्र रावत तथा विशालविक्रम केसीले समान १/१ विकेट लिए । जितसँगै पुलिसको ३ खेलबाट ७ अंक भएको छ । लुम्बिनीको भने ३ खेलबाट २ अंक भएको छ । प्रतियोगितामा मंगलबार पनि चार खेल हुनेछन् ।