
काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दा नेपालले आत्मघाती गोल उपहार पाएको थियो । खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरूआती अग्रता दिलाएका थिए ।
इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई पहिलो हाफमा नेपालविरूद्ध २-० को अग्रता दिलाएका हुन् । खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरे पनि कतार ३-१ ले विजयी भयो ।
यस जितसँगै कतारले प्रतियोगितामा विजयी सुरूआत गरेको छ । कतारले पहिलो खेलमा ३ अंक जोडेको छ । लगातार दुई खेलमा हार व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन् । समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २-० गोलले पराजित भएको थियो । यस समूहमा नेपाल, कतार, भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन् ।
अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ । त्यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ । समूह विजेताले सन् २०२३ मा ज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्