
काठमाडौं । बागलुङको गलकोट नगरपालिका रिघामा भाइरल ज्वरोका बिरामी बढेसँगै विद्यालय बन्द भएका छन् ।
रिघामा ज्वरो आउने, रुघाखोकी र घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले बताउनुभएकाे हाे । उहाँले बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको बताउनुभयो ।
लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ । गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकील डेंगुको पनि परीक्षण गर्ने तयारी गरेको छ । विद्यालयका शिक्षक र विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय ३ दिनसम्मका लागि बन्द गरिएको छ ।
गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय ३ दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर बिकले बताउनुभयाे । गत हप्ता केही विद्यार्थी र शिक्षक मात्रै बिरामी रहेको र सोमबारदेखि २४ जना विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उहाँले बताउनुभयो ।
साेही विद्यालय शिक्षक भोजेन्द्र नेपालीले स्वास्थ्य समस्याका कारण विद्यालयमा विद्यार्थी अनुपस्थित हुन थालेपछि विद्यालय बन्द गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्