२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जिया खान आत्महत्या प्रकरण : उच्च अदालतद्वारा आमा राबियाको पुन: छानबिनको निवेदन खारेज


286
Shares

एजेन्सी । बलिउड अभिनेत्री जिया खान आत्महत्या प्रकरणमा अभिनेत्रीकी आमा राबिया खानलाई ठूलो झट्का लागेको छ । बम्बे उच्च अदालतले जिया आत्महत्या प्रकरणलाई पुनः खोल्न र नयाँ अनुसन्धान सुरु गर्नको लागि निवेदन खारेज गरेको छ ।

जिया खानको मृत्यु वर्षौंदेखि रहस्यमै सीमित बनेको छ । जिया खान ३ जुन २०१३ मा मुम्बईमा आफ्नै फ्ल्याटमा मृत अवस्थामा फेला परेकी थिइन् । जिया खानको मृत्युलाई आत्महत्या भनिएपनि अभिनेत्रीकी आमाले यसलाई आत्महत्या मानेकी थिइनन् ।

राबिया खानले जियाका प्रेमी अभिनेता सूरज पंचोली हत्यामा संग्लन भएको आरोप लगाएपछि लामो समयसम्म अनुसन्धान चल्यो । तर, अहिलेसम्म भएका सबै अनुसन्धानमा केही खुल्न सकेको छैन ।

छोरी जिया खानको मृत्युमा सूरज पञ्चोलीको हात रहेको भन्दै आमा राबिया खानले केही समयअघि अदालतमा मुद्दा पुन: खोल्नका लागि निवेदन दिएकी थिइन् । राबियाले यसअघिको अनुसन्धानमा धेरै गल्ती भएको भन्दै मुद्दाको पुन: छानबिन गर्न चाहेको दाबी गरेकी थिइन् । तर, उच्च अदालतले यस मामिलामा पुन: अनुसन्धानको लागि याचिका दायर गर्ने अपिललाई खारेज गरेको छ ।

भारतीय सञ्चार माध्यम पीटीआईका अनुसार न्यायाधीश एएस गडकरी र एमएन जाधवले सीबीआई अनुसन्धानमा पूर्ण विश्वास रहेको भन्दै राबियाको निवेदन खारेज गरे । साथै, सीबीआईका तर्फबाट अधिवक्ता सन्देश पाटिलले भने कि सीबीआईले यस मुद्दामा निष्पक्ष छानबिन गरेको छ, जसका कारण यो मुद्दामा पुन अनुसन्धान गर्न आवश्यक छैन ।

जिया खानको आत्महत्या प्रकरण वर्षौंदेखि चर्चामा छ । प्रारम्भिक अनुसन्धानका क्रममा राबिया खानले घटनाको नयाँ अनुसन्धान हुनुपर्ने भएकाले यो जिम्मेवारी विशेष निकायलाई दिनुपर्ने र संघीय अनुसन्धान ब्यूरोको सहयोग लिनुपर्ने अपिल गरेकी थिइन् । राबिया खानका वकिल शेखर जगताप र सरचिता चौधरीले मुम्बई पुलिसको प्रारम्भिक अनुसन्धानमा धेरै त्रुटि भएको तर्क गरे, त्यसपछि राबिया उच्च अदालत पुगेकी थिइन् ।