२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकारले जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिन नसकेको सांसदहरुको आरोप


52
Shares

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन ।

बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भयो । उहाँले मिटरब्याजीहरुबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । एमालेका अर्का सांसद गोपाल भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोप समेत लगाउनु भयो ।