
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गर्नु भएको छ ।
५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बालबालिकाहरुको साहित्य र कला प्रस्फुट्न गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गर्नु भएको हो ।
राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयासहरु अगाडि बढाएको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई पनि त्यसमा चासो राख्न आग्रह गर्नु भयो । उहाँले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिईरहेका र काम गरिरहेका संस्थाहरु दर्जनौं रहेको उल्लेख गर्दै आभार समेत व्यक्त गर्नु भयो ।
राष्ट्रपति भण्डारीले बालबालिकाहरुको साहित्य र कलाको प्रर्दशनीका लागि आफूले समय दिएरै कार्यक्रम गर्न चाहेको उल्लेख गर्दै त्यसमा कलासहितको उत्कृष्ट प्रर्दशनी हुने विश्वास समेत व्यक्त गर्नु भयो । त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरुलाई व्यापक अर्थमा बुझि सोही अनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गर्नु भयो । त्यस क्रममा बालबालिकाहरुले कला र साहित्यका विभिन्न विधा प्रस्तुत गरेका थिए ।
राष्ट्रपति भण्डारीले हरेक वर्ष राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आउनु भएको छ । उहाँले ठाउँ अलि सानो भएकाले बालबालिकाहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न कठिनाई भएको आफूलाई अनुभूति भएको पनि बताउनु भयो ।
यस वर्ष सरकारले सो दिवसको मूल नारा ‘बालमैंत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्