
काठमाडौं । पूर्व मुख्यसचिव विमल कोईरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताउनुभएको छ ।
बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुक भित्र उत्पादन र उत्पादकत्व बढाउनुपर्ने भएपनि दुवै आफ्नो आफ्नो स्वार्थ र साना–साना कुरामा अल्झेर बसेको बताउनु भयो ।
कोईरालले सरकारले जनतालाई समृद्धि वितरण गर्ने वा गरीबी भन्ने विषय स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले मुलुक भित्र उत्पादन र उत्पादकत्व बढाउनसके मात्रै समृद्धि वितरण गर्नसक्ने दावी गर्नुभयो । कोईरालले पछिल्लो समय अर्थतन्त्रमा देखिको समस्याको दीर्घकालिन समाधान गर्न सरकारले आयातलाई प्रतिवन्ध भन्दा पनि उत्पादन बढाएर निर्यात वृद्धिमा जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले नेपाली उत्पादनको खपत बढाउनको लागि नेपाली उद्योगहरुको प्रतिस्पर्धी क्षमता बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले उद्योगहरुको प्रतिस्पर्धी क्षमता बढाउनको लागि सरकारले उद्योगको संरक्षण र अन्य सुविधा दिनुपर्ने बताउनु भयो । उहाँले अहिले सरकार र निजी क्षेत्रको दुवैको उत्पादनमा प्रतिस्पर्धी क्षमता बढाउनेतिर ध्यान नगएको बताउनु भयो । कोईरालले सरकार तुलनात्मक लाभ विद्युत,पर्यटन र कृषि भनेर बसेपनि तुलनात्मक लाभले केही नहुने बताउनु भयो ।
उहाँले उत्पादन र उत्पादकत्व बढाएर नेपालमा नै उपभोग हुने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो । कोईरालले अहिले सरकारको नियन्त्रणमुखी नीति बढी र खुला नीति कम भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्