१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


समानुपातिक उम्मेद्वार चयनको लागि कांग्रेसद्वारा छलफल सुरु


91
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेद्वार चयनको लागि छलफल सुरु गरेको छ ।

सत्तागठबन्धनमा सिट बाँडफाँटको विषय जटिल बनिरहेको बेला कांग्रेसले समानुपातिक निर्वाचनतर्फका उम्मेद्वार छनोटका लागि छलफल सुरु गरेको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेद्वार चयन गर्ने विषयमा छलफल पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय बोर्डको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकमा समानुपातिक उम्मेद्वार चयन बारे छलफल भएको संसदीय दलका सचेतक मिन विश्वकर्माले जानकारी दिनुभयो । कांग्रेसमा केन्द्रीय संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिकतर्फको सूची बुझाउनुपर्ने कार्यतालिका तय गरेको छ ।

नेपाली कांग्रेसको विधानले २५ सदस्सीय केन्द्रीय संसदीय बोर्डको व्यवस्था गरेको छ । तर, अहिले सभापतिसहित १३ पदाधिकारी र नेता रामचन्द्र पौडेल मात्रै मनोनीत छन् । कांग्रेसको विधानअनुसार क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिहरूले उम्मेदवारका आकांक्षीको सूची केन्द्रीय समितिमा बुझाईसकेका छन् ।

उम्मेद्वार चयनमा संसदीय बोर्डको निर्णय नै अन्तिम हुने व्यवस्था कांग्रेसको विधानमा छ । बोर्डको निर्णयबमोजिम सभापति देउवाले उम्मेदवारलाई मनोनयन पत्र दिनुहुनेछ ।