१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कांग्रेस उम्मेदवारको सूची बनाउने जिम्मा सहमहामन्त्रीलाई


351
Shares

काठमाडौं । नेपाली कांग्रेसले समावेशीताको आधारमा उम्मेद्वारको सूची बनाउने जिम्मा पार्टीका सहमहामन्त्रीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस भएका नामबाट क्लस्टर छुट्याउने जिम्मेवारी पार्टीका ८ जना सहमहामन्त्रीलाई दिएको हो । सहमहामन्त्रीलाई समितिले आ–आफ्ना क्लस्टरमा सिफारिस भएका उम्मेदवारको नाम छुट्याएर ल्याउने जिम्मेवारी दिएको छ ।

कांग्रेसले विधानबमोजिम १६५ र ३३० वटै निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको थियो । तर, जिल्ला र क्षेत्रीय समितिले भने आकांक्षी सबैको नाम राखेर सिफारिस गरी पठाएका छन् ।

एउटै क्षेत्रबाट २५ जनासम्मको नाम सिफारिस भएर आएकाले अहिलेसम्म सबै उम्मेदवारको नाम एकै ठाउँमा राखेर सङख्या एकिन गर्न नसकिएको पार्टी सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । बुधबार बसेको संसदीय समितिको बैठकले समानुपातिकतर्फ एक निर्वाचन क्षेत्रबाट एक जना उम्मेदवार हुने गरी उम्मेदवार चयन गर्ने लगायत ४ वटा मापदण्ड बनाइसकेको छ । कांग्रेसको संसदीय समिति २५ सदस्यीय हुन्छ । तर, अहिले सो समिति अपुरो छ ।

समितिमा पार्टीका पदाधिकारी १३ जना स्वतः सदस्य छन् भने सभापति देउवाले रामचन्द्र पौडेललाई मात्रै सदस्यमा मनोनीत गर्नुभएको छ । तर, उम्मेद्वारी चयन गर्ने बुधबार र बिहीबारका बैठकमा भने नेता डा.शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यलाई समेत आमन्त्रण गरिएको छ ।

कांग्रेसमा तल्ला तहबाट सिफारिस भएका नामका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ । असोज २ र ३ गतेभित्र समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका तय गरेको छ ।