१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेर साढें ८ प्रतिशत पुग्यो


104
Shares

काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति साढें ८ प्रतिशत नजिक पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक स्थिति अनुसार मूल्य वृद्धि अघिल्लो वर्षको यसै अवधिको तुलनामा झण्डै दोब्बर अर्थात् दशमलब दुई छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो ।

यस अवधिमा कुल वस्तु निर्यात २८ दशमलब ७ प्रतिशतले घटेर १४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १ सय १५ प्रतिशतले वृद्धि भएको थियो । पहिलो महिनामा कुल वस्तु आयात १२.९ प्रतिशतले कमी आई १ सय ३१ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो । पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १० दशमलब ४ प्रतिशतले कमी आई १ सय १६ अर्ब ४८ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो । यस अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो ।

विदेशी मुद्रा सञ्चिति एक महिनामै डेढ प्रतिशतले घटेको जनाइएको छ । २०७९ असार मसान्तमा रु.१२ सय १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १ दशमलब ५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा ११ सय ९७ अर्ब ८५ करोड कायम भएको छ । संघीय सरकारको खर्च रु.२२ अर्ब २६ करोड र राजस्व परिचालन रु.७९ अर्ब ७२ करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २ प्रतिशतले घट्दा निजी क्षेत्रमा प्रवाहित कर्जा नगन्य प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ११.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।