१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सांसद पन्तको माग


13
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गर्नु भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरुको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको जिकीर समेत गर्नु भयो । उहाँले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।

सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वाचनका लागि उम्मेदवार छनौट गर्न पनि सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराउनु भयो । उहाँले संविधान अनुसार आगामी निर्वाचनमा महिलाहरुको सहभागिता बढाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि आग्रह गर्नु भयो ।

सांसद पन्तले दशैं–तिहारजस्ता चाँडबाँड आएको उल्लेख गर्दै सर्वसाधारणका लागि सुलभ र सस्तो बजारको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।