१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सभामुख सापकोटा कारण प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी भएन : नेता पोखरेल


273
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गर्नु भएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको बफादार कार्यकर्ताको भूमिकामा रहँदा प्रतिनिधिसभाको आफ्नो कार्यकाल प्रभावकारी हुन नसकेको उहाँको आरोप थियो । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रतिनिधिसभाले आफूले दिनुपर्ने डेलिभरी दिन नसकेको पटकपटक दोहार्‍याउनु भयो ।

उहाँले सभामुख सापकोटाको भूमिका प्रतिनिधिसभाको नेतृत्वको रुपमा दुःखद् रहेको प्रतिक्रिया समेत दिनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख सापकोटाकै कारण सरकारले गरेको काम, कारवाहीबारे जनतालाई सही सूचना दिने काम समेत प्रतिनिधिसभाबाट हुन नसकेको गुनासो गर्नु भयो ।

उहाँले आफ्नो पार्टीले भने सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा पनि संसदको भूमिकालाई सशक्त बनाउन सक्दो प्रयास गरेको दावी समेत गर्नु भयो ।