
सुनसरी । भारतसँग सीमाना जोडिएको सुनसरीमा चाडपर्व र आगमी मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीहरुले शान्ति सुरक्षा मजबुद बनाउन २४ सै घण्टा संयुक्त गस्ती सुरु गरेका छन् ।
हिन्दुहरुको महान पर्व दशैं, तिहार र छड पर्व नजिएसँगै सीमा क्षेत्रमा हुने सम्भावित अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल (एसएसबी) ले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी गस्ती सुरु गरेको हो । सीमा क्षेत्रमा नेपाल तर्फको सशस्त्र प्रहरी र भारत तर्फको एसएसबीको संयुक्त टोलीले सीमा क्षेत्रमा २४ सै घण्टा निगरानी बढाएको छ ।
चाड पर्वमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न र मंसिर ४ गते आयोजना गरिएको निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि शसस्त्र प्रहरी र एसएसबीको संयुक्त बैठक बसेर सीमा क्षेत्रको सुरक्षा मजबुद बनाउन संयुक्त गस्ती थालिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्ष विक्रम हुमागाईले बताएका छन् ।
सुनसरीको सप्तकोकोशी ब्यारेजदेखि मोरङसँग जोडिएको अमरडुवासम्म एसएसबीको सहयोगमा सशस्त्र प्रहरीले संयुक्त गस्ती सुरु गरेको उहाँले बताउनुभएकाे छ। चाडपर्व र चुनाव बिफल पार्नका लागि अपराधिक समूह सक्रिय रहेको गोप्य सूचनाको आधारमा सीमा क्षेत्रमा निगरानी बढाइएको उहाँले बताउनुभयाे ।
सुनसरीको सीमावर्ती क्षेत्र भ्यान्टावारी, लौकही, बसन्तपुर, घुस्कि, हरिनगरा, देवानगन्ज, कप्तानगञ्ज र अमडुवा लगायतका मुख्य नाका र गौडाहरुमा हतियारसहितको विशेष टोली परिचालन गरि सीमा क्षेत्रको शान्ति सुरक्षा मजबुद पारिएको उहाँले बताउनुभएकाे छ ।
सीमा नजिकैको नेपालतर्फ हुने अपराधिक गतिविधिका बारेमा भातीय सुरक्षा बल (एसएसबी) लाई जानकारी दिने भारततर्फ हुने अपराधिक गतिविधिहरु सशस्त्र प्रहरीलाई जानकारी दिने सहमति भएको उहाँले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्