
काठमाडाैं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज शनिबार नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिनुभएको बयानमा हस्ताक्षर गरिसकेकोले शनिबार नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले शनिबार नै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेश हुने र शनिबार नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताउनुभयो ।
उहाँले शनिबारको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गर्नुभएको र समिति सदस्यहरुको प्रतिप्रश्नको समेत जवाफ दिनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज सुरुमा नै म सबमा साइन गर्छु, खासै तलमाथि केही रहेनछ भनेर बैठकमा दिएका बयानमा हस्ताक्षर गर्नुभयो । त्यसपछि सदस्यहरुले प्रतिप्रश्न गर्नुभयो । प्रतिप्रश्न गर्दा थप प्रष्ट गर्ने काम भयो । दफाबार १ देखि ४३ सम्मका प्रश्नको बारेमा स्पष्ट पार्नुभयो । पहिलो चरणको बैठक सम्पन्न भएको छ । दोस्रो चरणमा प्रतिवेदनको मस्यौदा बनाउनेछौँ । दोस्रो बैठक ३ बजे बस्छ । दोस्रो चरणमा हामी प्रतिवेदनको निर्णयार्थ पेश हुन्छ । सचिवालयमा हामी बुझाउँछौँ । मस्यौदा ३ बजेको बैठकमा समितिमा पेश हुन्छ ।’
समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका सभापति रामबहादुर विष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मस्यौदा तयार गरेर बाँडिएको छ, ३ बजेको बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरेर अन्तिम रुप लिएर अघि बढ्छौँ । आजै प्रतिवेदन सभामुखलाई बुझाउँछौँ ।’
समितिको दोस्रो बैठक शनिबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्