
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको पूर्ववर्ति सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताउनुभएको छ ।
शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताउनुभएको हो । संसदको पुर्नस्थापना जनताको भावना र पहल, बहुमत सांसदको निर्णय, नागरिक समाजको पहल र संवैधानिक इजलाशको बहुमतको कारणले सम्भव भएको उहाँको भनाई छ ।
उहाँले संसद विघटन गर्ने ओलीलाई संसद पुर्नस्थापनाको निर्णयलाई परमादेश भनेर टिप्पणी गर्ने अधिकार नभएको बताउनुभयो । अध्यक्ष दाहालले देशलाई संवैधानिक दुर्घटनाबाट बचाउन र लोकतन्त्र, राष्ट्रको रक्षा गर्ने उद्देश्यले गठबन्धन गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले आगामी निर्वाचनमा एमालेको अवस्थाबारे गत स्थानीय तह निर्वाचन, राष्ट्रिय सभा, नेपाल पत्रकार महासंघ र नेपाल बार एशोसिएसनको निर्वाचनले सन्देश दिइसकेको बताउनुभयो । अध्यक्ष दाहालले संसदको कार्यकालको विषयमा संविधानले निर्देशित गरेको मर्म अनुसार संसदले निर्णय गर्ने कुरा भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्