४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मन्त्री बडूद्वारा सुपथ मूल्य पसलको उद्घाटन


91
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहहरुलाई बजार अनुगमन गर्न आग्रह गर्नुभएको छ ।

शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाँडवाँड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले स्थानीय तहहरुलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेको र चाँडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि हुने भएकाले तिनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भएपनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने बताउनुभयो ।

उहाँले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भएपनि ति तहहरुबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताउनुभयो । मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पतिको यथार्थ अभिलेखिकरण राख्न निर्देशन दिनुभयो । उहाँले कम्पनीको सम्पतिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देशन गर्नुभयो ।

मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा बिक्रि वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४१ जिल्लाका ४५ वटा शाखाहरुमा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।