२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकल बहुमत ल्याउन व्यवहारिक कठिनाईका कारण गठबन्धन : नेता खनाल


351
Shares

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।

नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने सम्मानित नेता खनालको तर्क थियो । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गर्नु भयो ।

अहिले पनि कोहीले गणतन्त्रवादीसँग र कोहीले राजतन्त्रवादीसँग गठबन्धन गरिरहेको भन्दै सम्मानित नेता खनालले नेपालमा यसले लामै समय लिने आफूलाई लागेको बताउनु भयो । आगामी निर्वाचनमा पनि एकल बहुमत ल्याउन व्यवहारिक कठिनाई भएकाले दलहरु कुनै न कुनै रुपमा गठबन्धन गरिरहेको पनि उहाँले स्मरण गराउनु भयो ।

खनालले २०७४ सालको निर्वाचनमा पनि दुई ठूला बामपन्थी दलहरुबीच गठबन्धन भएरै करिव दुई तिहाईको जनमत आएको बताउनु भयो ।

सम्मानित नेता खनालले देशको अग्रगति र प्रगतिलाई केन्द्र भागमा राखेर गठबन्धन गरेर जान सबै राजनीतिक दलहरु स्वतन्त्र रहेको पनि पटकपटक दोहोर्‍याउनु भयो । उहाँले केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन सम्झौंता गरेर महत्वपूर्ण काम गरेको चर्चा समेत गर्नुभयो ।