
काठमाडौं । साफ महिला फुटबलमा भारतमाथिको ऐतिहासि जित पछि नेपाल काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जित सहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बलियो टोली भारतको चुनौति १–० ले पार गर्दा नेपालले उपाधि भिडन्तका लागि बंगलादेशसँग भिड्नु पर्ने समीकरण बनेको हो । बंगलादेशले पहिलो पटक सेमिफाइनलमा पुगेको भुटानमाथि ८–० को फराकिलो जित निकाल्दा अन्तिम दुईमा स्थान बनाउँदा छैठौं संस्करणको उपाधि नयाँ टोलीले उचाल्ने निश्चित भएको छ ।
यसअघि सम्पन्न सबै संस्करणमा भारतले उपाधि उचालेको थियो । सोमबार हुने प्रतिस्पर्धाबाट विजयी टोलीले साफ महिला फुटबलमा नयाँ इतिहास रच्ने निश्चित भएको हो । बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गर्दा नेपाल भने पाँचौ पटक फाइनल प्रवेश गरेको हो । २०१६ को संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको नेपाल अन्य संस्करणमा भने उपविजेतामा सिमित हुँदै आएको छ ।
सोमबार हुने फाइनल खेलबाट नेपाली टोली घरेलु भूमिमा आयोजना हुन लागेको प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा हुनेछ । भारतमाथि रोमाञ्चक जित दिलाएका प्रशिक्षमा कुमार थापाले खेलपछिको पत्रकार सम्मेलनमा उपाधि दिलाउँदै नेपाली जनतलाई खुसी दिलाउने उद्घोष गरेका छन् । प्रशिक्षक थापाले भने जस्तो फाइनल नेपाली टोलीका लागि सहज भने हुने छैन ।
नेपाली टोलीका केही अनुभवि र राम्रा खेलाडीमा डेंगीको समस्या देखिएको छ । साथै बंगलादेशले जारी प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा नेपाल भन्दा समिकरणको हिसाबमा बलियो देखिएको छ । बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्समाथि ३–० को जित निकाल्दै प्रतियोगितामा विजय सुरुआत गर्दा दोस्रो खेलमा पाकिस्तानमाथि ६–० को फराकिलो जित निकालेको थियो ।
यस्तै तेस्रो खेलमा भारतमाथि ३–० को जित निकालेको बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ८–० को फराकिलो जित दर्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्