
काठमाडौं । शनिबार रातिदेखि संसद अधिवेशन अन्त्य भएको छ ।
भदौ ३१ गते मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले संसद अधिवेशन अन्त्य गरेसँगै प्रतिनिधि सभाको कार्यकाल पनि सकिएको छ ।
शनिबार दिउँसो प्रतिनिधि सभाको अन्तिम बैठक बसेको थियो । जहाँ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्ताधारी दलका सबै नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि निशाना साँधेका थिए । प्रतिपक्षी दल एमाले अध्यक्ष ओली पनि परमादेशबाट बनेको सरकार भन्दै बर्तमान सरकारले देशलाई दिन प्रतिदिन अधोगतितिर लगेको आरोप लगाउनुभएको थियो ।
त्यस्तै अधिकांश सांसदहरुले २०७४ सालको निर्वाचनबाट बनेको प्रतिनिधि सभाले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरेका छन् । अब आगामी मंसिर ४ गते हुने चुनावपछि बन्ने प्रतिनिधि सभाको बैठक मात्रै बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्