
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रक्रिया आज आइतबारदेखि सुरू हुँदैछ ।
नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आज आइतबार र भोलि सोमबार समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेस गर्नुपर्ने छ ।
संघीय संसदको कुल १६५ जना प्रत्यक्ष निर्वाचित हुने संख्याको ४५ प्रतिशत अर्थात एक सय १० जना समानुपातिकबाट चयन हुने ब्यवस्था छ भने प्रदेश सभामा पनि प्रत्यक्ष निर्वाचित हुने संख्याको ४५ प्रतिशत नै समानुपातिक सांसद चयन हुने ब्यवस्था रहेको छ ।
राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्दछ । त्यसमा पनि ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ । त्यसैगरी समावेशी सिद्धान्तबमोजिम बन्दसूचि बुझाउनु पर्दछ ।
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची पेस गर्नेलगायतका प्रक्रिया निर्वाचन आयोगमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट गरिन्छ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरू हुने छ । प्रत्यक्षतर्फको निर्वाचन प्रक्रियाका लागि भने निर्वाचन आयोगले असोज ११ गते निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्त गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्