५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


इल्चेलाई हराउँदै बार्सिलोना उक्लियो शिर्ष स्थानमा


286
Shares

काठमाडौं । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोना शिर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा इल्चेलाई ३–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा रियल मड्रिडलाई उछिनेको हो ।

खेलमा बार्सिलोनालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले दुई तथा मेम्फीस डिपेले एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा मेम्फीसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

खेलको १४ औं मिनेटमा गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो । त्यस्तै, ४५ औं मिनेटमा इल्चेका मुख्य प्रशिक्षक फ्रान्सिस्को रोड्रिगेजले रातो कार्ड पाए ।

ला–लिगाकै अन्य खेलहरुमा भ्यालेन्सियाले सेल्टा भिगोलाई ३–० ले हराउँदा एथ्लेटिक बिल्बाओले रायो भायकानोलाई ३–२ ले तथा मयोर्काले अल्मेरियालाई १–० ले हराएका छन् ।

शनिबार रातिको खेलपछि ६ खेलबाट १६ अंक जोडेको बार्सिलोना स्पेनिस लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियल मड्रिड १५ अंकसहित दोस्रो स्थानमा छ । रियल मड्रिडले आज आइतबार राति आफ्नै शहरको प्रतिद्धन्दी एट्लेटिको मड्रिडसँग खेल्नेछ ।