
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको हो ।
टोटनह्यामका लागि सब्सटीच्युट खेलाडी सन ह्युङ मिनले ह्याट्रिक गर्दा ह्यारी केन, एरिक डियर र बेन्टान्करले एक एक गोल थपे । लेस्टरका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा टेलिमन्सले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । आठौं मिनेटमा टोटनह्यामका केनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । २१ औं मिनेटमा एरिकले गोल गर्दै टोटनह्यामलाई २–१ को अग्रता दिलाए । ४१ औं मिनेटमा लेस्टरका म्याडिसनले गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याए ।
त्यस्तै, ४७ औं मिनेटमा रोड्रिगोले गोल गर्दै टोटनह्याममलाई ३–२ को अग्रता दिलाए । ७३ औं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई ४–२ ले अगाडि बढाए । ८४ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ५–२ को अग्रता दिलाए । त्यसपछि ८६ औं मिनेटमा सनले ह्याट्रिक पूरा गर्दा टोटनह्यामले ६–२ को जित निकाल्यो ।
जितसँगै टोटनह्यामको ७ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित लेस्टर भने ७ खेलमा १ बराबरीसँगै १ अंकसाथ पुछारमा छ ।
शनिबार नै भएको अर्को खेलमा न्युकासल युनाइटेड र बर्नमाउथको खेल १–१ को बराबरी खेलेका थिए ।
प्रतिक्रिया दिनुहोस्