
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने मिति आज आइतबार र भोलि सोमबार तोकेकाले राजनीतिक दलहरु बन्दसूचि तयार पार्न ब्यस्त छन् ।
नेपाली कांग्रेसको संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बिहान ९ बजेदेखि समितिको बैठक चलिरहेको हो ।
कांग्रेस सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम जातीय तथा अन्य समूह अनुसार सूचीकृत गरी बुझाएकाले सोही प्रतिवेदन अनुसार उम्मेदवार छनौट गरिने जनाइएको छ ।
यस्तै, नेकपा एमालेको सचिवालय बैठक आइतबार पनि बस्दै छ । शनिबार साँझ भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले समानुपातिक उम्मेदवाहरुको टुंगो लगाउन नसकेपछि आज ११ बजेलाई बैठक बोलाइएको हो ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिका अनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरुका बारेमा जानकारी गराउनु भएको थियो । विविध मापदण्ड, समावेशि र विभिन्न जातीय समूहहरुलाई मिलाएर समानुपातिकको सूचि बनाउनु पर्ने हुन्छ ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने पार्टीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्