१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली जनताले आफ्नो परिवारको जीवन रक्षाका लागि साथ दिन जबराकी छोरीको आग्रह


6.396k
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधीले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गर्नु भएको छ ।

जबराकी छोरी सुनिधिले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न पनि नेपाली जनताले साथ दिनुपर्ने बताउनु भयो । आइतबार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उहाँले आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको बताउनुभयो ।

देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाई दिन पनि नेपाली जनताबाट ठूलो भरोसा लिएको बताउनु भयो । उहाँले भावविह्वल हुँदै स्कुुलमा रहेको बच्चा ल्याउन नदिने, औंषधी ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो गर्नु भयो । हामीमाथि सरकारले आफ्नो पावर देखाएर किन यस्तो अराजकता फैल्याएको छ ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको उल्लेख गर्दै सुनिधिले त्यसबारे तथ्य बुझ्न पनि नेपाली जनतालाई आग्रह गर्नुभयो ।

सुनिधिका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ हुनु भएको बुझिएको छ । छोरी सुनिधिका अनुसार उहाँलाई सञ्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औंषधी ल्याउन समेत नदिएको बताइएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधिसभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज (आईतबार) बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गर्नु भएको थियो । तर सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ ।

यता, राष्ट्रिय मानव अधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश जबरा र उहाँको परिवारको अवस्थाबारे जानकारी लिन गएपनि त्यसबारे औंपचारिक कुनै जानकारी गराएको छैन ।