१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दलहरुले बुझाए समानुपातिक उम्मेदवारहरूको बन्दसूची


1.092k
Shares

election commission

काठमाडाैँ । राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन् ।

प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी , लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरुले समानुपातिक उम्मेदवारकाे बन्दसूची पेश गरेका हुन् । दलहरुले पेश गरेको बन्दसूचीलाई रुजु गर्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली कांग्रेसले बुझाएको बन्दसूचीअनुसार सहमहामन्त्रीद्धय फरमुल्लाह मन्सुर, जीवन परियार, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्वअर्थमन्त्री डा.रामशरण महत, केन्द्रीय सदस्य आरजु राणा देउवा, अम्बिका बस्नेत लगायतका हेविवेट नेताहरु पनि समानुपातिक सूचीमा परेका छन् ।

नेकपा एमालेका शीर्ष नेताहरु भने प्रत्यक्ष प्रणालीबाट निर्वाचन लड्ने भएका छन् । रघुजी पन्त बाहेक अन्य शीर्ष नेता समानुपातिक सूचीमा छैनन् । पूर्वसभामुख कृष्ण बहादुर महरालाई माओवादी केन्द्रले समानुपातिक सूचीमा राखेको छ । नेकपा एकीकृत समाजवादीका तीनजना पदाधिकारी उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर र सचिव नागेन्द्र चौधरी समानुपातिक सूचीमा पर्नुभएको छ । निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई आज साँझ ५ बजेसम्म अन्तिम मिति तोकेको थियो ।

दलहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फ संविधानले व्यवस्था गरे अनुसार विभिन्न कलष्टर मिलाएर ११० जना र प्रदेशसभातर्फ २२० जनाको सूची पेुश गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि कुल ८७ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज पेश भएको बन्दसूची १६ गतेसम्म सच्याउन सकिने निर्वाचन कार्यक्रममा उल्लेख छ । प्रत्यक्षतर्फको मनोनयन भने असोज २३ गते हुँदैछ ।