२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खाँचो उचित पात्रलाई उचित जिम्मेवारीको


26
Shares

काठमाडौं । ओसोको शब्द सापटी लिँदा ‘राजनीति डकैतीको आधुनिक व्यवस्था हो।’ उनले त बरु व्यंग्यमिश्रित भावमा त्यसो भनेका होलान् । तर राजनीतिमा लागेका हाम्राको हालसम्मको रवैया नियाल्दा त त्यसलाई साकार पार्न यिनले कुनै कसर बाँकी राख्लान् जस्तो देखिँदैन। दुर्भाग्य, जुनसुकै व्यवस्था या वादमा पनि यहाँ नेतृत्वमा प्रायः उनै दोहोरिन्छन्। त्यसो भएपछि स्वाभाविकरूपमा परिणाम पनि उही हुने नै भयो।

हो, देश र जनताका नाम त यिनले बगे्रल्ती भजाउँछन्। तर उल्टै देशको नै शोषण गरेर र जनताका हक अधिकार खोसेर आफ्नो, आफन्तको, आफ्नो दल-गुटमा आबद्धको, आफूमाथि गणेशभक्ति र चाकडी चाप्लुसी गर्नेहरूको उत्थान र सन्तुष्टि दिलाउनेबाहेकका काम यिनले के नै पो गरेका छन् र ? अर्को विडम्बना के भने कमजोर अथवा निर्णायक भूमिकामा नरहुञ्जेल दलहरू देश र जनहितका चर्का कुरा गर्छन्।

तर कथम यिनै निर्णायक भूमिकामा पुगेमा कसरी अनुचित शक्ति सञ्चय गरेर हिटलर बन्ने दाउमा हुन्छन् भन्दा अतिशयोक्ति नहोला। फलतः दलीय राजनीतिप्रति जनतामा तीव्र वितृष्णा पैदा भएको छ। घोषित सङ्घ र प्रदेशको निर्वाचन आउन अब दुई महिना मात्र बाँकी छ। दलहरूको पटक–पटकको ज्यादतिबाट आजित बनेका नागरिकले पूर्वपरीक्षित कसैलाई पनि कार्यकारी प्रमुखमा नदोहोर्‍याउने अभियान नै चालेको बताइन्छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।