
काठमाडाैं । चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले उपत्यकामा चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’ को व्यवस्था गर्न लागेको हो । उपत्यका थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास र बालाजु लगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको महाशाखाले जनाएकाे छ ।
ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमता भन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ ।
त्यस्तै चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गर्ने, सवारीसाधनमा जिङ्गल बनाएर सुनाउने, बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने र लागूपदार्थ सेवन जाँच गर्ने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ ।
महाशाखाले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिने भएकाे छ ।
यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडा दर र यात्रुलाई गन्तव्य स्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने समेत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्