१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस


195
Shares

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ ।

प्रतियोगिताका रूपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।

प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर छनोट गरेको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले बताउनुभयो ।

नेपालको ग्रामीण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ भाइको रहरको कथा, दिदीको सपनाको कथा र आमाको सङ्घर्षको कथा हो । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बू, विषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्तालगायतका कलाकारको अभिनय रहेको छ । भाद्र २४ गते देखि देशैभरको फिल्म हलमा फिल्म प्रदर्शनरत छ ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिद्वारा अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म पेस गर्न आह्वान गरिएको थियो । नेपालबाट अस्करको प्रतिस्पर्धामा सामेल हुन् दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ को आवेदन प्राप्त भएको थियो ।