१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालगञ्जमा छोरीलाई उच्च शिक्षा पढाउन बजेट विनियोजन


52
Shares

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले छोरीलाई उच्च शिक्षासम्म पढाउनका लागि बजेट विनियोजन गरेको छ ।

गरिबी र अशिक्षाका कारण बालविवाहका साथै छोरीमाथि अन्य हिंसात्मक घटना भइरहेको जनाउँदै उपमहानगरपालिकाले छोरी पढाउन चालु आर्थिक वर्षका लागि २० लाख पचास हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले बालिका शिक्षा तथा बालविवाह न्यूनीकरणका लागि विनियोजित रकम केही दिनमा खातामार्फत पठाइने उपमहानगरले जनाएको छ ।

गरिब, विपन्न, अल्पसंख्यक, जनजाति, आदिवासी बालिकालाई छनोट गरिने छ । खाता मार्फत पठाईएको रकम २० वर्ष पुगेपछि निकाल्न पाउने व्यवस्था गरिएको छ । २० वर्षसम्म पढाइलाई निरन्तरता दिनुपर्ने उपमहानगरको भनाइ छ ।

उपमहानगरपालिकाले राखिदिएको पैसा २० वर्षपछि निकालेर विवाहमा खर्च गर्न पनि सक्छ र पढाइमा निरन्तरता दिन पनि सक्ने नियम छ ।

उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाका प्रमुख शोभा शाहले निर्देशिकामा बालिकाको खातामा २५ हजार रुपैयाँ राखिदिने व्यवस्था गरिएको बताउनुभयो ।

गत वर्षको १० लाख ५० हजारमा यो वर्ष १० लाख रुपैयाँ थपेर बजेट साढे २० लाख रुपैयाँको बनाइएको छ ।