
जनकपुर । धनुषामा स्थानीय तह निर्वाचनको खर्च नबुझाउने ५ हजार भन्दा बढी जनप्रतिनिधिहरु कारबाहीमा परेका छन् ।
निर्वाचन आयोगको कार्यालय मधेश प्रदेशले जिल्लाको १८ वटै स्थानीय तहमा निर्वाचन लडेका मध्ये निर्वाचन खर्च नबुझाउने ५ हजार ७ सय २६ जनालाई जरिवाना तोकिएको जनाएको हाे । उपमहानगरपालिकादेखि गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूमा उम्मेदवारी दिएकामध्ये ४ सय ७ जनाले मात्र निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
धनुषामा उपमहानगरपालिकादेखि गाउँपालिकासम्म विभिन्न पदमा ६ हजार १ सय ३३ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयका सूचना अधिकारी कृष्णचन्द्र राउतले बताउनुभयो। निर्वाचन खर्च नबुझाउने महानगरपालिकाको प्रमुख, उपप्रमुखको हकमा ७ लाख ५० हजार, वडाध्यक्ष तथा वडा सदस्यलाई ३ लाख र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखको हकमा खर्च नबुझाउने उम्मेदवारहरूलाई ५ लाख ५० हजार, वडाध्यक्ष तथा सदस्यहरूलाई २ लाख ५० हजार जरिवाना तोकेको उहाँले बताउनुभएकाे छ ।
नगरपालिकाका प्रमुख तथा उपप्रमुखले ४ लाख ५० हजार, वडाध्यक्ष तथा सदस्यहरुले २ लाख र निर्वाचन खर्च नबुझाउने गाउँपालिकाको प्रमुख र उपप्रमुखलाई ३ लाख ५० हजार तथा वडाध्यक्ष तथा सदस्यहरूलाई १ लाख ५० हजार जरिवाना तोकेको उहाँले बताउनुभयाे।
प्रतिक्रिया दिनुहोस्