
काठमाडौं । डेंगुको कारण हालसम्म बागमती प्रदेशमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका चार, ललितपुरका दुई, सिन्धुपाल्चोकका दुई, मकवानपुरका एक, सिन्धुलीका एक र धादिङका एक जना रहेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डेंगुको प्रकोपबाट बागमती प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना संक्रमित भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ललितपुर जिल्लामा मात्र चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् । यसैगरी, काठमाडौंमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आठ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुका बिरामी रहेका छन् ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ ।
प्रतिक्रिया दिनुहोस्