
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आज बिहीबारदेखि सुरू गर्दैछ ।
अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ ।
उनीहरुले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ तथा प्रदेश सभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।
अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन निर्वाचन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।
सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्थाबमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगका नाममा विभिन्न समयमा आदेश दिएको थियो ।
ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृती लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्