
काठमाडौं । इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको तेस्रो टी–ट्वान्टी खेल जितेको छ ।
युवा ब्याटर ह्यारी ब्रुकको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले तेस्रो टी–ट्वान्टी आई खेलमा पाकिस्तानमाथि ६३ रनको जित हात पारेको हो ।
योसँगै सात टी–ट्वान्टी आई खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ ।
इंग्ल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो ।
पाकिस्तानका शान मसुदले अविजित ६६, खुसदिल शाहले २९ तथा मोहम्मद नवाजले १९ रन बनाए ।
इंग्ल्यान्डका लागि मार्क उडले ३, आदिल रसिद २ तथा साम करन र रिच टोप्लेले समान १र१ विकेट लिए ।
त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।
इंग्ल्यान्डका २३ वर्षीय युवा ब्याटर ह्यारी ब्रुकले अविजित ८१, बेन डुकेटले ७०, विल ज्याक्सले ४० तथा डेभिड मलानले १४ रन बनाए ।
पाकिस्तानका लागि उस्मान कादिरले २ तथा मोहम्मद हुसाईनले १ विकेट लिए ।
पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेट र दोस्रो खेलमा पाकिस्तान १० विकेटले विजयी भएका थिए ।
चौथो खेल भोलि आइतबार कराँचीमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्