
काठमाडौं । ‘प्लस टू फाइभ के’ रनको उपाधि नेपाल पुलिस क्लवका नागेश्वर अहिर र श्री गंगा मावि जुम्लाकी राममाया बुढाले हात पारेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि हात पारेका हुन् । पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दूरी १५ मिनेट १५.१ सकेण्डमा पूरा गरे । पुलिसकै सन्तोष नाथ योगी १५ मिनेट २४.५ सेकेण्डको समय निकाल्दै दोस्रो भए । श्री रत्नचौडनेश्वर माविका प्रकाश कठायत १५ मिनेट ३४.८ सेकेण्डको समय निकाल्दै तेस्रो भए । पुरुषतर्फ सञ्जय नेपाली चौथो, विश्वराम कुँवर पाँचौ र किरण लिम्बू छैटौं भए । मिङमार सिंगी तामाङ सातौं, अर्जुन राई आठौं, आशिष कुवर नवौं र अभिराज राई दशौँ स्थानमा रहे ।
महिलातर्फको उपाधि जित्ने क्रममा राममायाले १९ मिनेट १८.३ सेकेण्डमा उक्त दूरी पूरा गरिन् । एनआरएस स्पोर्ट्स फाउन्डेसनकी अञ्जु खड्का १९ मिनेट ५८.८ सेकेण्डको समय निकाल्दै दोस्रो भइन् । ओहारा कार्कीले २० मिनेट १८.४ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । यस्तै, सरस्वती बोहरा, सोनु घतानी,अनुजा कार्की, सरिता रम्तेल, रेस्टिना सिटीखु, शेर्बी महर्जन र उर्जा मधिकर्मी क्रमशः चौथोदेखि दशौँ स्थानमा रहे ।
दुवै विधाको पहिलाे विजेताले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, चौथोले १० हजार, पाँचौले ५ हजार र छैटौंदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएकाे छ । यस्तै, प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
उमेर समूहको एथलेटिक्सका खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा करिब २ सय ५० खेलाडीले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्