११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


हनुमान ढोकास्थित दशैं घरमा विधिवत रुपमा जमरा राखियो


169
Shares

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा आज (साेमबार) विधिवत रुपमा जमरा राखिएको छ ।

सोमबारबाट विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो। हनुमान ढोकास्थित दशैं घरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०ः२३ बजे जमरा राखिएको हो । सोही अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ ।

दशैंको पहिलो दिन घटस्थापनको अवसरमा घर-घरमा जमरा राख्ने प्रचलन छ । सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैं घरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा अर्चना गरिन्छ ।

नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजा अर्चना गरिन्छ ।

जमरा राखेपछि हनुमान ढोका दरबारका पूजारी सागर खरेलले नियमपूर्वक मन्त्रोच्चारण गरी घटस्थापना र जमरा राखिएको बताउनुभयो । विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर आज भोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन रहेकाे छ ।