१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मनास्लु आधार शिविरमा हिमपहिरो


169
Shares

काठमाडाैं । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति सामान्य घाइते भएको भनिए पनि यकिन विवरण भने प्राप्त भएको छैन । यस सिजनमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि अनुमति दिइएको छ ।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर पठाउन लागिएको बताउनुभयो । त्यस्तै पर्यटन विभागका निर्देशक युवराज खतिवडा हिमपहिरो गएको पुष्टि गरे पनि त्यहाँ रहेका व्यक्तिसँग सम्पर्क नभएको जानकारी दिनुभयो ।

त्यस्तै इलिट एक्पिडिसनका सञ्चालकसमेत रहेका आरोही निर्मल पुर्जाले मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिनुभयो ।

पुर्जाको समूहले यस पटक मनास्लुबाट प्याराग्लाइडिङ गर्ने अनुमति लिएको छ । यस पटक शरदयामका लागि ८ हजार मिटर भन्दा अग्ला तीनसहित १५ वटा हिमाल आरोहण गर्न शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ ।

विभागका निर्देशक खतिवडाका अनुसार, शुक्रबारसम्म १५ हिमाल आरोहणका लागि ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति जारी गरिएको छ । यी आरोहण दलमा १ सय २३ महिला र ३ सय ८३ पुरुषसहित ५ सय ६ जना सदस्य रहेका छन् ।

यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा अरोहण दललाई अनुमति दिइएको विभागले जनाएको छ । यसमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ सदस्य छन् ।

मनास्लुपछि धौलागिरि हिमालका लागि ३४ जना, हिमलुङ हिमालका लागि १२ जनालाई आरोहण अनुमति दिइएको छ । अरु १२ वटा हिमालमा न्यूनतम २ देखि १० जनासम्मलाई अनुमति दिइएको छ । शरदयाममा सर्वाधिक आरोहणका लागि मनास्लु र अमादब्बलम हिमाल विदेशीहरुमाझ लोकप्रिय मानिन्छ ।