
कञ्चनपुर । कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र परेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीका कारण निर्माणाधिन राजमार्ग अलपत्र परेको हो ।
तोकिएको समय गुज्रेपछि पटक–पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नहुँदा हुलाकी राजमार्ग अलपत्र परेको हो ।
६२ किलोमिटर सडक ३० महिनाभित्र कालोपत्रे गरिसक्ने गरी पहिलो पटक सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर पाँच पटक म्याद थप गर्दा पनि निर्माण कार्य पूरा हुन नसकेपछि स्थानीयवासिन्दा आक्रोशित भएका छन् ।
३० महिनामै सक्नुपर्ने काम ६५ महिना बितिसक्दा पनि निर्माण कम्पनीको लापरवाहीले पूरा हुन नसकेको हो ।
२०७३ फागुनमा निर्माण कम्पनी बाबाहंस सिद्धिकी शाही र शर्मा राजेन्द्र जेभीले हुलाकी राजमार्ग आयोजना कार्यालयसँग ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने गरी सम्झौता गरेका थिए । तर, सम्झौता भन्दा दोब्बर समयावधि हुँदासमेत निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्