
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे ।
६ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । वि.सं २०५३ मा सुरू हुँदा टेलिशृङ्खलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो । तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरू भएको टेलिशृङ्खला १७ भाग पश्चात् ‘भोलिको कुरा’ स्वाभाविक नभएपछि ‘हिजो आजका कुरा’ बन्यो । पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो ।
उक्त समयमा झुपडीदेखि दरबारसम्म रुचाइएता पनि देशमा आएको राजनीतिक परिवर्तनसँगै बि.स.२०६३ मा यो हाँस्य टेलिशृङ्खला बन्द भयो । दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाए पछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म १ सय १७ भाग प्रसारण गरे । लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन । १६ देखि १८ घन्टासम्म हुने विद्युत भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन । अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउँने तयारीमा जुटेका छन् ।
उहाँकै छोरा साकार पन्तले ‘हिजो आजको कुरा’ चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दै छन् । अभिनेता सन्तोष भन्छन्, ‘पुस्तान्तरण गरेको हुँ । नयाँ पुस्तालाई नयाँ सोच भएकै मेकर्स चाहिन्छ भनेर छोरालाई अगाडि सारेको हुँ ।’ चलचित्रमा हिजो आजकै भइरहेका कुरा देखाइएको उनले बताए । फरक सोचका कुरा, बेथितिका कुरा, विदेशिनेका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको छ । टेलिशृङ्खलाको रुपमा लोकप्रिय भएपछि ठूलो पर्दामा ल्याउँदा ‘द मुभी’ लेखिएको छ ।
चलचित्रमा उहाँको जोडी टेलिशृङ्खला झैँ रमा थपलिया छिन्। हिजो आजका कुरालाई चलचित्रको रुप दिन पाउँदा साकार छन् । यहीँ शीर्षक लिएर डेब्यु गर्नु आफ्नो लागि अवसरसँगै चुनौती रहेको साकार बताउछन् ।
चलचित्रमा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्