१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सिन्धुलीका किसान खुर्सानीबाट राम्रो आम्दानी गर्दै


169
Shares

सिन्धुली । सिन्धुलीका ग्रामिण क्षेत्रका बासिन्दाले केही समय यता व्यवसायिक खुर्सानीको खेती गर्न थालेपछि राम्रो आयआर्जन गर्न थालेका छन् ।

सिन्धुलीस्थित विभिन्न स्थानीयतहका कृषिशाखाहरू र कृषि ज्ञानकेन्द्रको प्राविधिक सहयोगमा व्यवसायिक खुर्सानी खेती गर्नका लागि आवश्यक ज्ञान र सिप पाएका महिला तथा पुरुष किसानहरूले जिल्लाका सुनकोशी गाउँपालिकाको नागीमझुवा, गोलन्जोर गाउँपालिकाको खनियाखर्क हिर्दङग लगाएतका स्थानहरूमा व्यवसायिक खुर्सानी खेती सुरू गरेका हुन् ।

किसानहरुले अकबरे, सूर्यमुखी, लाम्चे, डल्ले र तरकारी खाने खुर्सानी लगायतका आधा दर्जन भन्दा विभिन्न जातका खुर्सानीहरूलाई आ–आफ्नो खेत बारीमा लगाएर धान मकै र कोदो समेत राम्रो नफल्ने खेत बारीमा लाखौं रुपैयाँको खुर्सानी फलाउन थालेका हुन् ।

पछिल्लो समयमा अबकरे लगाएतका खुर्सानीहरू औषधीको रुपमा प्रयोग गर्नेहरूको संख्यामा बृद्वि भएका कारण बजारमा माग बढेकोे छ भने, केही जातका खुर्सानीहरू तरकारी र अचारका लागि प्रयोग हुने गर्दछ ।

किसानहरूले आफ्नो खेत बारीमा व्यवसायिक रूपमा गरेको खुर्सानी खेतीबाट उत्पादित खुर्सानीहरू सदरमुकाम सिन्धुली माडी लगायतका स्थानहरूमा प्रतिकेजी ३ सय देखि ५ रुपैयाँसम्म महंगोमा वितरण बिक्री हुँदै आएको छ ।

प्रशस्त जमिन नभएका किसानहरूलाई धान, मकै र कोदो, जस्ता अन्न बाली लगाउँदा खान नपुग्ने तर सोही जग्गामा व्यावसायिक रुपमा गरिएको खुर्सानी खेतीले खान लाउन, छोरा छोरी पढाउन तथा घरको गर्जो टार्न समेत पुग्ने स्थानीय विनोद कार्कीले बताउनुभयो ।

सिन्धुली जिल्लाका नागी, मझुवा, जलकन्या, तीनकन्या लगायतका क्षेत्रका व्यवसायिक खुर्सानी किसानहरूले खुर्सानी खेतीबाट प्रति व्यक्ति वार्षिक ४ लाख सम्म आम्दानी गर्दै आएका छन् ।